प्यूठान — जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको छ।
गाउँपालिकाका पाँचै वडाका गरिब, अनाथ, असहाय तथा अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने वडा अध्यक्ष धनेन्द्र कार्कीले बताए । उक्त कार्य नयाँगाउँस्थित माण्डवी माध्यमिक विद्यालयलाई केन्द्र बनाई आगामी शैक्षिक सत्र २०८२ देखि कार्यक्रम लागू गरिने वडा अध्यक्ष कार्कीले प्यूठान आलाईनलाई बताए ।
उनले भने “सामाजिक न्याय र शैक्षिक पहुँच सुनिश्चित गर्न यो कार्यक्रम सुरु गर्न लागिएको हो,अब यो विद्यालय सुविधाविहीन बालबालिकाका लागि आशाको केन्द्र बन्नेछ।” छनोट प्रक्रिया र अन्य विवरण चाँडै सार्वजनिक गरिने वडा कार्यालयले जनाएको छ।