चैत १६ गते शनिवार ,काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण, लुटपाट र ज्यान जाने गरी भएको घटनाका दोषीलाई कानून अनुसार कारबाही हुने बताउनुभएको छ । आज नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून अनुसार अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
राजावादीहरुले तीनकुनेमा हिजो गरेको आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको छ भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरेका छन् । आक्रमणकारीहरुले हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए ।
त्यसैको अनुगमन एवम् निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग साइनो नरहेको बताउनुभयो ।