काठमाडौँः आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परे । दाङको तुलसीपुर–१६ स्थायी घर रहेका शर्मालाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो । योसँगै प्रहरीले यस प्रकरणमाथिको अनुसन्धान फेरि गर्न थालेको खुलेको छ ।
प्रहरीले एकातिर नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सूक्ष्म अनुसन्धान अगाडि बढाएको छ भने अर्कोतिर यो प्रकरणमा शंकास्पद रहेका व्यक्तिको घरमा छापा मार्न थालेको छ । आइतबार त एक जना फरार अभियुक्त पक्राउ नै परेका हुन् । यसअघि असोज १२ गते केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०बाट खटिएको टोलीले भूषण राणाको घरमा प्रहरीले छापा मारेको थियो । स्थानीय प्रहरीको सहयोगमा जावलाखेलस्थित राणाको घरमा प्रहरी घेराबन्दी गरेर सामान खानतलासी गरिएको थियो ।
राणा नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार हुन् । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् । भूषण राणा आरजु राणाका कतिपय डिलमा प्रतिनिधिका रूपमा खटिने गरेको आरोप लाग्ने गरेको छ । भूषणको घरमा छापा मारेपछिको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहबारे अनुसन्धान गरेको थियो । त्यसबेला यो प्रकरणसँग राजनीतिक नेतृत्वको साँठगाँठ रहेको विषय सञ्चारमाध्यमले समेत उधिनेका थिए । ठगी प्रकरणबारे अनुसन्धान हुँदै जाँदा पूर्वगृहमन्त्री वालकृष्ण खाँणदेखि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसम्म पक्राउ परे र जेल परे । खाँण हाल जेलबाहिर छन् भने रायमाझी जेलमै छन् । यो प्रकरणमाथिको अनुसन्धान अगाडि बढ्दै जाँदा प्रचण्ड नेतृत्वको सरकार नै ढलेको थियो । कतिपयले सोही प्रकरणका कारण प्रचण्ड नेतृत्वको सरकार ढलेको बताउने गरेका छन् । १७ असार २०८१ मा कांग्रेस र एमालेबीच सातबुँदे समझदारी भएपछि ३० असार २०८१ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । ओली प्रधानमन्त्री भएपछि यो प्रकरणमाथिको अनुसन्धान रोकिएको थियो ।
त्यसबेला बेचन झा पक्राउ परेलगत्तै कांग्रेस र एमालेले यो प्रकरणमाथिको अनुसन्धान रोक्न पहल गरेको र आरजु राणा पक्राउ पर्ने अवस्था बनेपछि तत्कालीन सरकार ढलेर ओली नेतृत्वमा सरकार बनेको नेताहरू बताउँछन् । ओली नेतृत्वको सरकार १४ महिना चल्यो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि ओली राजीनामा दिन बाध्य भए । भदौ २४ गते नै ओलीले राजीनामा दिए । त्यसपछि प्रतिनिधि सभाबाट अर्को सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको छ ।
कार्की नेतृत्वमा सरकार बनेसँगै प्रहरीले फेरि नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान अगाडि बढाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन् १९९० ताका भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा राखिएको थियो । तिनलाई तेस्रो मुलुक लैजानेक्रममा नेपालीलाई समेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य भएको अनुसन्धानबाट खुलेको हो ।
नेपाल आएर शरण लिएका १ लाख १३ हजारभन्दा बढी व्यक्ति संयुक्त राष्ट्रसंघ र नेपालका प्रमुख दातृ राष्ट्रको पहलमा अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्डलगायत देशमा पुनर्वास भएका छन् । शरणार्थीका लागि राष्ट्रसंघले तेस्रो देश पुनर्वास कार्यक्रम राखेर अगाडि बढाउने क्रममा नेपालीलाई नक्कली शरणार्थी बनाइएको हो ।
तेस्रो देश पुनर्वास हुन बाँकी करिब ६ हजार ५ सय जना मोरङ र झापाका विभिन्न शरणार्थी क्याम्पमा बसोबास गरिरहेका थिए । बाँकी शरणार्थीको व्यवस्थापनबारे पहल भइरहँदा गृह मन्त्रालयले उनीहरूको अनुसूची तयार गर्न कार्यदल गठन गरेको थियो । त्यहीबेला तेस्रो देश पुनर्वास गराउने आवरणमा गिरोहले राज्य शक्तिका संयन्त्र र अधिकारप्राप्त अधिकारीलाई हातमा लिएर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा पारी मोटो रकम असुली धन्दा चलाएको अनुसन्धानमा खुलेको हो ।
कार्यदलले नीतिगत रूपमै भ्रष्टाचार गरेर पैसा उठाउँदै नेपाली नागरिकहरूलाई शरणार्थीको सूचीमा राखेको उजुरीपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । दुई चरणको अनुसन्धान यसअघि नै भइसकेको छ । प्रहरीले अहिले दोस्रो चरणबाट अनुसन्धान अगाडि बढाएको हो वा तेस्रो चरणको अनुसन्धान सुरु गरेको हो प्रस्ट भनेको छैन ।