प्यूठान अनलाईन न्यूज डेक्स । आज सात वटै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एकदुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले देशभर मनसुन सक्रिय छ । अहिले पनि कोशी, मधेश, बागमती प्रदेशको थोरै ठाउँमा तथा बाँकी प्रदेशको एकदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एकदुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ । गएराति झापा, उदयपुर, बाँके, डोटीलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आउँदो २४ घण्टामा कतै कतै अति ठूलो पानी पर्ने तर त्यो थोरै अवधि पर्ने सम्भावना छ ।आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै ठाउँमा र बाँकी प्रदेशको पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा ठूलोदेखि अति ठूलो तथा लुम्बिनी प्रदेशको तराईको भागको थोरै ठाउँ, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भागको एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । भोलि र पर्सि आजको तुलनामा कम पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।।