नयाँ दिल्ली । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा रहेको सवाई मानसिंह अस्पतालको आईसीयू वार्डमा गएराति ठुलो आगलागी भयो । यस घटनामा सात बिरामीको मृत्यु भयो भने अन्य कयौँ गम्भीर बिरामीहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो । घटनास्थलमा रहेका डाक्टर, नर्स र दमकलकर्मीहरूले अथक प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।अस्पतालको ट्रमा सेन्टरको आईसीयू वार्डमा सर्ट सर्किटका कारण आगलागी भएको देखिएको ट्रमा सेन्टरका इन्चार्ज डा।अनुराग धाकडले बताए । आईसीयूमा भर्ना भएका धेरैजसो बिरामी पहिले नै गम्भीर अवस्थामा थिए । अधिकांश कोमामा थिए । सर्भाइभल रिफ्लेक्स कमजोर भएकोले उनीहरूलाई तुरुन्तै सार्न गाह्रो भयो ।
आगोबाट निस्कने विषाक्त ग्यासहरूले उनीहरूको अवस्था अझ बिगार्यो । उनीहरूलाई तल्लो तल्लामा रहेको आईसीयूमा सार्न प्रयास गरिए पनि ६ जना बिरामीलाई बचाउन सकिएन । दुर्घटनाको जानकारी पाएपछि मुख्यमन्त्री भजनलाल शर्मा आफैँ अस्पताल पुगेर अवस्थाको जानकारी लिएका थिए ।
अस्पताल प्रशासनले घटनाको छानबिन गर्न आदेश दिएको छ । प्रहरी र फोरेन्सिक टोलीहरूले आगलागीको कारणको बारेमा विस्तृत अनुसन्धान गरिरहेका छन् ।
घटनापछि अस्पताल परिसरमा सुरक्षा र अग्नि सुरक्षा उपायहरूको समीक्षा भइरहेको छ । प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटको सङ्केत गरेको भए पनि अन्तिम रिपोर्ट अनुसन्धानपछि मात्र उपलब्ध हुने बताइएको छ ।