काठमाण्डौ – गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । काठमाण्डौ उपत्यकासहितका अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । स्याङ्जा, पर्वत, कास्की, पाल्पा, रुपन्देही, गुल्मी, कपिलवस्तु, बाँके, दाङ, कैलाली, कञ्चनपुर लगायतका ठाउँमा ठूलो पानी परेको हो । स्याङ्जाको आँधीखोला जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा कोशी प्रदेशको एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।