डोल्पा कारागार भागेका थप दुई कैदी पक्राउ - Pyuthan Online
कार्तिक २९ गते २०८३

डोल्पा कारागार भागेका थप दुई कैदी पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २४ गते २०८३

प्युठान अनलाईन न्युजडेक्स। जिल्ला कारागार डोल्पाबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रंग गाउँभन्दा माथिको जङ्गलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्। योसँगै डोल्पा कारागारबाट फरार ८ जनामध्ये पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

यसअघि फरार त्रिपुरासुन्दरी नगरपालिका वडा नं। ७ का कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका वडा ९ का कैलाश भन्ने कपिल परियार पक्राउ परेका थिए । त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं। १० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका वडा नं। ५ का २८ वर्षीय रेशम राना पनि पक्राउ परिसकेका छन्। उनीहरु पनि जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् । गत कार्तिक १४ गते दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका ८ जनामध्ये अझै दुई जना फरार छन । फरार हुनेमा चोरी मुद्दाका आठबिसकोट नगरपालिका वडा न ५ का तिलक भण्डारी र वडा न ३ का आदेश भण्डारी छन् ।उनीहरुको पनि खोजी कार्य तिव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

सम्वन्धित समाचारहरु