प्यूठान अनलाईन न्यूज डेक्स ।आइतबार बिहानै ५ः५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिए ।
व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो ।
प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । ‘घटनास्थलको प्रकृति हेर्दा प्रारम्भिक रुपमै हत्या जस्तो देखिन्छ, हत्याकै आशंकामा अनुसन्धान गरिरहेका छौं’ जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले भने ।
शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान गर्यो ।