१३ गते जेठ ,गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको विकासमा आफूले निरन्तर ध्यान दिएको बताएका छन् ।
गोरखा स्थित सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवन समुद्घाटन गर्दै प्रचण्डले प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समेत आफुले गोरखालाई ध्यान दिएको बताए ।
उनले भने, ‘संघीयता कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरेर संघीयताको कार्यान्वयनका लागि पहल गरेको थिएँ । त्यसका लागि धेरै काम अगाडि पनि बढाइएको थियो। तर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो काम रोकिएको छ ।’
संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएकोप्रति उनले चिन्ता व्यक्त गरे । ुगाउँगाउँमा सिंहदरबारु भन्ने अवधारणा आफूले नै ल्याएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उहाँको भनाइ थियो । बुढी गण्डकी जलविद्युत आयोजना अगाडि बढाउन गरिएको मिहिनेत हाल रोकिएको भन्दै उनले त्यसमा पुनः गति दिन जरुरी रहेको धारणा व्यक्त गरे ।
प्रचण्डले भने, ‘अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक छ । शुसासन र समृद्धिका लागि पनि अब लड्नुपर्ने अवस्था आएको छ ।’
युवाहरू विदेशिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उनले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेको बताए ।