सदस्यको दुःख सुःखको सारथी बन्दै विजय फूलबारी सहकारी - Pyuthan Online
कार्तिक २१ गते २०८२

सदस्यको दुःख सुःखको सारथी बन्दै विजय फूलबारी सहकारी

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ८ गते २०८१

राधिका भुसाल 
प्यूठान

समान हैसियत र समान उद्देश्य बोकेका एउटै भुगोलमा बसेका मानिसहरू एक आपसमा  मिलेर  आफ्ना आवश्यक्ताहरुलाई सामूहिक सहकार्यका माध्यमबाट पूरा गर्न खोलिएका संस्था सहकारी संस्थाहरु हुन् । यही उद्देश्यका साथ खुल्दै र फैलँदै गएका सहकारीले नेपालको आर्थिक र सामाजिक विकासमा निकै सघाएका छन् । यदाकदा सहकारी सिद्धान्त विपरीत चलेर केही सहकारी संस्थाहरुले यसको महत्व र गरीमामा आघात पू¥याउन खोजे पनि वास्तविक समुदायको आवश्यक्ताबाट सञ्चालन भई सदस्यकै नियन्त्रणमा सदस्य केन्द्रित समुदायमा चलेका सहकारी संस्थाहरुले सदस्यहरुको जीवन परिवर्तन गर्नुको साथै देशको आर्थिक विकासमा समेत ठूलो सहयोग पू¥याएका छन् । सदस्यलाई जन्मदेखि मृत्युसम्मको सुविधा उपलब्ध गराउनुको साथै सामाजिक कार्यमा पनि ठाउँ–ठाउँका सहकारीले रचनात्मक कार्य अघि बढाइ नमूना प्रदर्शन गरेका छन्, जसमध्ये एक हो, प्यूठानको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था  लि. । 


प्यूठान जिल्लाको सहकारी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल   सहकारी संस्था जिल्लाको पहिलो बचत ऋण संस्था एवं सहकारी अभियानकै नेतृत्वदायी भूमिका निर्वाह गरेको बचत तथा ऋण सहकारी संस्था  हो । वि.स. २०५५ सालमा तत्कालिन खैरा गा.वि.स.का १३ जना युवाहरुले मासिक रु १०० का दरले बचत जम्मा गर्न सुरुवात गरी स्थापना भएको फूलबारी बचत तथा ऋण सहकारी संस्था लि र वि.स.२०६३ सालमा महिला दिदीबहिनीहरुले बचत जम्मा गर्न सुरु गरी  स्थापना भएको विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था एकआपसमा २०७९  सालमा एकीकरण भएर  विजय फूलबारी भएको हो । 


 संस्थाका काम कार्बाही तथा सेवाहरु दिन प्रतिदिन नमूना योग्य बन्दै गएका छन् । ५ हजार ७  सय बढी सदस्य आबद्ध रहेको विजय फूलबारीले प्रत्येक वर्ष सदस्यहरुका लागि नयाँ एवं सदस्यमैत्री कार्यक्रमहरु अघी बढाउँदै आएको छ । संस्थाको कार्यालय वातावरण, कर्मचारी व्यवस्थापन, भौतिक संरचना, कार्यालय वातावरण तथा सेवाको तौर तरिका हेर्दा कुनै एउटा बैंकभन्दा कम देखिंदैन ।  संस्थालाई कुनै व्यक्तिको निर्णयभन्दा पनि नीतिगत ढंगले सदस्यमैत्री सेवा अघि बढाएको संस्थाका पदाधिकारीहरु बताउँछन् । 


संस्थालाई नीति विधि र प्रविधिगत ढंगले अघी बढाउँदै सम्पूर्ण सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै सदस्यको मनोभावना अनुसार योजनाहरु अघि सारेको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्यले बताए । ‘संस्थाभित्र रहेका हामी सबै एक परिवार हौं,’ अध्यक्ष आचार्यले भने–‘सबै सदस्यलाई समान व्यवहार र समान अवसरहरु प्रदान गर्दै आएका छौं ।’ आर्थिक रुपमा अलि कमजोर सदस्यको जीवन रुपान्तरण गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले बताए ।  सीप विकास, उद्यमशीलता, व्यापार व्यवसाय, उत्पादनलगायतका क्षेत्रमा  लगानी गरी सदस्यलाई आत्मनिर्भर बनाउने काम गर्दै आएको उनको भनाइ छ । 


सहकारी एकीकरण  भइसकेपछि आफ्ना सदस्यहरुलाई अझैँ राम्रो सेवा प्रदान गर्न सफल भएको  विजयफूलबारी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राधा पुलामीले बताइन । ‘फूलबारीसँग एकीकरण भएपछि धेरै राम्रो योजनाहरु अघि सारेर सदस्य केन्द्रित भएका छौं,’ उनले भनिन्–‘सदस्य महिला सुत्केरी हुँदा सुत्केरी कोसेली लगेर घरमै भेट्न जान्छौं, बच्चाको खाता खोलिदिन्छौं, कृषि व्यवसाय गर्ने सदस्यहरुलाई टनेलहरु उपलब्ध गराउँदै पनि आएका छौं ।’ दुःखमा थोरै भए पनि आर्थिक सहायता होस् भने घाट खर्च कोष बनाएर सदस्यको मुत्य भएका वा सदस्यको एकघर परिवारमा कसैको मृत्यु भएमा केही रकम लगेर समवेदना प्रकट गर्न घरमै पुग्ने गरेको उनले बताइन् । आगामी दिनमा सदस्यहरुलाई हित हुने कार्यक्रम तथा योजनाहरु बनाएर काम गर्ने उनको भनाइ छ ।  


विजय फूलबारीको मन छुने कार्यक्रम 
नेपालको अर्थतन्त्रको एउटा खम्बा मानिएको सहकारीले पछिल्लो समय सदस्य सेवामुखी बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि  संस्थाले २९ बुँदे नीति र ४३ बुँदं योजनाहरु अघि सारेको छ । संस्थाको इतिहास झल्किने वृत्तचित्र निर्माण गर्ने, सदस्यहरुका लागि सीप विकास तालिम गर्ने, प्रत्येक इलाकामा घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तार अभियान गर्ने, सहकारी रेडियो शिक्षा कार्यक्रम गर्ने, सार्वजनिक स्थल तथा मठ मन्दिर सरसफाइ गर्ने, लैंगिक हिंसाविरुद्ध कार्यक्रम गर्ने, वृक्षा रोपण गर्ने, विद्यार्थी प्रतियोगिता कार्यक्रम गर्ने, ट्राफिक सचेतना कार्यक्रम गर्ने तिज विशेष कार्यक्रमलगायतका सबै क्षेत्रलाई समेट्ने गरी कार्यक्रम ल्याएको छ । संस्थामा आबद्ध सबै सदस्यहरुको १ लाखसम्मको दुर्घटना बिमा योजना अघि सारेको छ भने २५ हजारको सदस्य मृत्यु कोष र ५ हजारको सदस्यका एकाघर परिवारका लागि घाट खर्च तथा राहत कोष दिँदै आएको छ । त्यस्तै अस्पतालसँग समन्वय गरी सदस्य स्वास्थ्य उपचारमा छुट र संस्थाको कार्यक्षेत्रको दुर्गम स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायतका संस्थाका वार्षिक कार्यक्रम योजनाहरु हुन् । 


संस्थाले ‘सुखी सदस्य, उत्कृष्ट साकोस्’ को परिकल्पना अनुरुप रणनीतिक व्यवसायिक योजना, वर्तमान वित्तीय अवस्था, एक्सेस कार्यक्रमको पाल्र्म वर्कशप तथा स्थलगत सुपरीवेक्षणबाट प्राप्त सुझावहरुलाई अवलम्बन गर्दै आएको छ ।  
५ हजार ७ सय बढी सदस्य संख्या रहेको जिल्लाको अग्रणी एवं सहकारी अभियानको नेतृत्वदायी  सहकारीका रुपमा विजय फूलबारीले  आफ्नो छवि बनाउन सफल भएको छ । १ हजार ३ सयबाट सुरुवात भएको संस्थाको कुल पुँजी हाल २८ करोड ३६ लाख १२ हजार ८ साय ३ रुपैयाँ कुल सम्पती तथा दायित्व रहेको छ ।  जगेडा कोष १ करोड ९६ लाख ५० हजार ३ सय ५४ पुगेको छ । सदस्यको बचत निक्षेप २२ करोडय ६४ लाख ६४ हजार ३ सय ४१ र ऋण लगानी १८ करोड ५७ लाख ६ हजार १ सय ७१ पुगेको छ । संस्थाप्रति सदस्यहरुको सक्रियता तथा विश्वास बढ्दै गएको देखिन्छ । 


व.स.२०५८ सालमा सहकारीको सदस्य बनेका प्यूठान नगरपालिका वडा नं. ३ रातामाटाका शिवबहादुर  पुलामीले बैंकहरु भन्दा विजय फूलबारी सहकारीको विश्वास लाग्ने बताए । ‘जान्ने बुझ्ने हो भने सहकारी हाम्रो लागि निकै राम्रो ठाउँ हो,’ पुलामीले भने–‘थोरै–थोरै गरी जम्मा भएको रकमले कुनै व्यवसाय, कृषि, छोराछोरीको पढाइ लेखाइ गर्न सकिन्छ ।’ तत्कालिन समयमा सहकारीमा ६ हजार जम्मा गरेर आफूले पाहुना होटल सञ्चालन गरेको उनले सुनाए । परिवारका ५ जना सदस्यले मासिक बचत गर्दै आएको बताउँदै उनले दैनिक बचत पनि गर्ने गरेको बताए । ‘सहकारीको बारेमा बाहिर आएको हल्ला जस्तो हाम्रो सहकारी छैन,’ उनले भने–‘व्यवस्थापकीय पक्ष, सञ्चालक टिम, कर्मचारीहरु सबैले राम्रो काम गर्दै आउनु भएको छ ।’ सर्वसाधारण जनताको लागि सहकारी नै कारोबार गर्ने उत्कृष्ट संस्था भएको उनले बताए ।  


जन्मदेखि मृत्युसम्म सहकारीको साथ  
संस्थाले आफ्ना सदस्यहरुको सन्तान जन्मिएमा सुत्केरी भेटघाट तथा नवशिशु बचत कार्यक्रम गर्दै आएको छ । सुत्केरीलाई घरमै पुगेर भेटघाट गरी एक क्यारेट अन्डा र नगद प्रदान गर्दै स्वास्थ्य लाभको कामना गर्ने गरेको छ । त्यस्तै सदस्यहरुको १ लाखसम्मको दुर्घटना बिमाको कार्यक्रम पनि सुरुवात गरेको छ । सदस्यको मृत्यु भएको अवस्थामा  २५ हजार नगद प्रदान गर्ने गरेको छ भने एकाघर परिवारको सदस्यको मृत्यु भएमा ५ हजार र समबेदान पत्रका  साथ श्रद्धाञ्जली व्यक्त गर्ने गरेको संस्थाका व्यवस्थापक  प्रकाश वैद्यले बताए । चालु आर्थिक वर्षका देखि लागु हुने गरी अझैँ उत्कृष्ट योजनाहरु अघि सारेको उनले जनाए ।

सहकारी संस्थाले प्रदान गर्ने सेवाहरु ,वित्तीय शिक्षालगाायतको सहकारी शिक्षा कार्यक्रम, सदस्य विस्तारित मञ्च, सदस्य व्यवसाय प्रवद्र्धन कार्यक्रम ,सदस्य दुर्घटना बिमा, अस्पतालमा उपचार सहुलियत, सदस्य औषधि उपचार कार्यक्रमलगायतका सदस्य मुखी कार्यक्रमहरु चालु वर्षमा अघि सारिएको र संस्थाले प्रत्येक वर्ष २ वटा सामाजिक कार्यहरु समेत गर्दै आएको समेत व्यवस्थापक वैद्यले बताए ।  संस्थाले महिला सदस्यलाई लक्षित गरी दरखाने कार्यक्रम र तिज विशेष बचत कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।  


सहकारीले अघि सारेका हरेक कार्यक्रमहरु सदस्य केन्द्रित भएको सहकरीका सदस्य नारायण केसीले बताए । ‘मलाई कारोबार गर्न बैंकहरुमाभन्दा पनि हाम्रै सहकारीको विश्वास लाग्छ,’ केसीले भने–‘मेरा हरेक अप्ठ्यारा परिस्थितिमा विजय फूलबारीले सधँै साथ दिएको छ । प्यूठान नगरपालिका ४ जुम्रीस्थित नारायण एण्ड रमेश जनरल स्टोर्स सञ्चालन गरेका उनी २०६० सालमा सहकारीको सदस्य बनेपछि सहकारीबाटै कारोबार गर्ने गरेको बताए । ‘४ हजार दैनिक बचत गर्दै आएको छु,’ उनले भने–‘अब तुरुन्तै दैनिक बचतलाई १० हजार पु¥याउने मेरो लक्ष्य छ ।’ सहकारीले असल ऋणीको रुपमा पुरस्कृत गर्दै आएको उनले सुनाए । कर्मचारी र सञ्चालक समितिको मेहनतले प्रदेशकै उत्कृट सहकारी बनेकोमा खुसी व्यक्त गरे । 


बैंकले ऋण नदिँदा सहकारीको जन्म 
तत्कालिन समयमा फूलबारी एकीकृत ग्रामीण विकास संस्थामार्फत् सञ्चालित महिला लघुउद्यम परियोजना कार्यक्रमलाई नेपाल बैंकले ऋण लगानी नगरेपछि सहकारीको जन्म भएको फूलबारीका संस्थापक अध्यक्ष लोकबहादुर बस्नेतले बताए । ‘हामीले समूह गठन गरेसकेका थियौं र, ति दिदिबहिनीहरुले पनि ऋण लिएर केही काम गर्ने योजना बनाइसकेका थिए, तर  बैंकले लगानी गर्न मानेन,’ अध्यक्ष बस्नेतले भने–‘एउटा विश्वासका साथ काम सुरु गरेका थियौ । यता बैंकले ग्रामीण क्षेत्रमा ऋण लगानी नगर्ने भएपछि हामीले सहकारीलाई बैंकको विकल्पको रुपमा स्थापना गरेका हौं ।’ जुन उद्देश्यका साथ सहकारीको स्थापना गरिएको थियो त्योभन्दा बृहत् रुपमा सहकारीको विस्तार भइसकेको उनले बताए । सुरुमा १३ जनाले १३ सय रुपैयाँ उठाएर सहकारी गठन प्रक्रियामा लाग्यौं करिब ३ महिना पछि २५ जना पुराएर दर्ता प्रक्रियामा लागेको समेत अध्यक्ष बस्नेतले सुनाए ।   सहकारी स्थापना गर्दाको लक्ष्य अनुरुप काम गरिरहेको संस्थाका अध्यक्ष आर्चाय बताउँछन् ।    


प्रदेशकै उत्कृष्ट सहकारीमा पुरस्कृत, अन्तर्राष्ट्रिय एक्सेस कार्यक्रममा सहभागी  
संस्थाले विभिन्न पुरस्कार तथा ब्राण्ड प्राप्त गरेको छ । नेपाल बचत तथा ऋण सहकारी संस्था (नेफ्स्कुनको) ३३ साधारणसभाको अवसरमा लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी घोषित भई सम्मान तथा पुरस्कार प्राप्त गरेको थियो । त्यस्तै आ.व. २०६७÷०६८ मा नेफ्स्कुनद्वारा मध्यपश्चिमाञ्चल  विकास क्षेत्रको उत्कृष्ट संस्थाको रुपमा पुरस्कार प्राप्त गरेको थियो । ५८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी डिभिजन कार्यालय दाङद्वारा राप्ती अञ्चलकै उत्कृष्ट संस्थाको रुपमा सम्मान पाउनुका साथै ९४औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय सम्मान प्राप्त गरेको संस्थाका व्यवस्थापक प्रकाश वैद्यले जानकारी दिए । लगातार दुई पटक राष्ट्रियस्तरको प्रोवेसन ब्राण्ड प्राप्त तथा  २०६७ सालमा महिला तथा बालबालिका मन्त्रालयबाट जिल्लाको उत्कृष्ट सहकारी संस्थाको रुपमा तत्कालिन विजयलक्ष्मी सहकारी पुरस्कृत भएको समेत उनले बताए । संस्था एशियालीस्तरको एक्सेस कार्यक्रममा सहभागी भई कार्यक्रमको मापदण्ड अनुसार थप सुशासित एवं सदस्यमैत्री बन्दै गएको समेत उनले जनाए । 


सहकारीसम्बन्धी इतिहास हेर्दा नेपालमा परम्परागत रुपमा हुने ऐंचोपैंचो, गुठी, पर्म, ढिकुटी, धर्मभकारी जस्ता सहकार्य सहकारीकै अभ्यास हुन् । २०१० सालमा सहकारी विभाग र २०१३ मा बखानसिंह गुरुङको नेतृत्वमा चितवनमा बखान ऋण सहकारीको स्थापनापछि औपचारिक रूपले सहकारी विस्तारित हुँदै गएको हो । 


संघीयतापछि गाउँगाउँमा ७ सय ५३ वटै स्थानीय तहमा सहकारी खुले । सहकारीमा सदस्य आफैं मालिक र आफैं ग्राहक हुने  भएपछि  सर्वसाधारणको भरोसा  बढेको हो भने अहिले कतिपय नीति नियम विपरीत हिंडेर बाटो बिराएकाहरुले गर्दा सहकारीमा यदाकदा  विचलन  आएको छ । 


समुदायमा आधारित भएर नियम संगत चलेका, नमूना काम गरेका  सदस्यमुखी सहकारी संस्थाहरुले यसको गरीमा बढाउन लागिपरेका छन् । सहकारी आम समुदायको साझा फूलबारी हो, यसको गरिमालाई उचो राख्न यस  क्षेत्रमा गलत क्रियाकलाप गर्नेलाई कार्बाही र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने नीति राज्यले लिनु पर्दछ । सबै सहकारी खराब छैनन् । 

सम्वन्धित समाचारहरु