प्यूठानबाट एकल महिलाको ‘रातो अबिर अभियान - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

प्यूठानबाट एकल महिलाको ‘रातो अबिर अभियान

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३२ गते २०८२

प्यूठान । “श्रीमान् गुमाएपछि जिन्दगी सकिँदैन, अब हामी चुप बस्दैनौं,” प्यूठानकी एक ६० वर्षीया महिलाको यो आवाज अहिले जिल्लाका एकल महिलाहरूको अभियान बनेको छ।

प्यूठानमा एकल महिलाहरूको पहलमा सुरु भएको ‘रातो अबिर अभियान’ले समाजमा जरो गाडेको विभेदकारी सोचविरुद्ध बहस मात्र हैन, कार्यान्वयनको अभ्यास पनि थालेको छ।

प्यूठानको जुम्रीमा सामाजिक विकास डिभिजन कार्यालयले आयोजना गरेको दुईदिने क्षमता विकास तालिममा सहभागी १५० जना एकल महिलाले एक स्वरमा भन्नुभयो, “रातो रङ श्रीमानको होइन, प्रकृतिको उपहार हो। यो रङ छुन नपाउने सोच अब तोड्नुपर्छ।”

सेतो कपडामा बाँधिनु पर्ने, सार्वजनिक सवारीमा चढ्दा साइत बिग्रन्छ भनेर रोकिने, खुला रूपमा गफ गर्न दिइँदैन र यस्ता व्यवहारविरुद्ध महिलाहरू एकजुट भएका छन्।

नौ बहिनी गाउँपालिकाकी एक महिलाले भन्नुभयो, “श्रीमान् मलेसिया गएका थिए, फर्केनन्। दुस्ख त थियो नै, समाजबाट अपहेलना पनि पाइयो। तर यस्तै अवस्था मेरी मात्रै होइन रहेछ।”

कार्यक्रममा २१ देखि ६० वर्षसम्मका महिलाहरूको सहभागिता रहेको थियो। कसैले श्रीमान् २१ वर्षकै उमेरमा गुमाएका थिएभने, कोही तीन सन्तानसहित जीवनसँग सङ्घर्ष गरिरहेका छन् ।

कार्यक्रम समापनमा लुम्बिनी प्रदेश सांसद निमा गिरीले भन्नुभयो, “हामी नेताहरू सँधै मध्यम वर्गमा सीमित भयौँ। तर यी महिलाहरू त गुमनाम नायिका रहेछन्। त्यसैले म आफैँले बजेट सुनिश्चित गरेकी हुँ।”

कार्यक्रमको उद्घाटनमा प्रदेश सभामुख तुलाराम घर्तीमगरले अभियानलाई लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा फैलाउने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा विवाहित नभएका तर समाजबाट टाढा पारिएका महिलाहरूको सवाल पनि उठ्यो। “विवाह नगरेका महिलालाई पनि एकलको पहिचान दिनुपर्छ। उनीहरू पनि राज्यका सेवामा पर्नुपर्छ,” सहभागी महिलाहरूको भनाइ थियो।

सामाजिक विकास डिभिजन कार्यालयका सूचना अधिकारी पारस भण्डारीका अनुसार, “रातो अबिर अभियान महिलाहरूको आत्मसम्मान, स्वतन्त्रता र सामाजिक पुनर्स्थापनाको प्रतीक बन्ने छ।” समाजमा विभेद होईन समानता हुनपर्दछ भन्ने सन्देश दिएको छ ।