मंसिर । जुम्लाबाट यस बर्ष ४१ करोड २९ लाख ८९ हजार दुईसय ७० रुपियाँको स्याउ निर्यात गरेको छ । कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार मंसिर २२ गते तयार पारिएको स्याउ निर्यातको प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा पाँच हजार पाँचसय ९१ मेट्रिकटन स्याउ निर्यात भएको छ । कार्यालयका अनुसार स्याउ फल्ने समयमा जुम्लाी स्याउ बगैचामा गएको मुल्य प्रतिकेजी ६५ रुपियाँ ५० पैसादेखि माथि बगैचामै बिक्री भएको, केही पालिकाका बगैचामा ७० रुपियाँमा विक्री भएको छ । इटालियन फुजी स्याउ एकसय ७५ रुपियाँ भन्दा माथिको मुल्यमा विक्री भएको छ ।
कार्यालयका अनुसार यस बर्ष स्थानीय स्याउ जिल्लाभित्रको खपत परिणाम चार हजार चारसय १५ मेट्रिक टन अर्थात २५ प्रतिशत रहेको छ । नासो, कोशेलीमार्फत समेत १५ प्रतिशत जिल्ला वाहिर गएको छ । यसैगरी उत्पादन भएको स्याउमा १५ प्रतिशत अर्थात दुई हजार ६ सय ४८।८१ मेट्रिक टनको चाना, जुस, जाम, साईडर, ब्राण्डी, माड बनाइएको छ ।