मुस्ताङ – मुस्ताङमा प्रहरीले ३४ बोरा शालिग्राम बरामद गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ३ मा रहेको इलाका प्रहरी कार्यालय छुसाङ चेक पोस्टले ३४ वटा बोरामा पोको पारेको ८९४ किलो शालिग्राम शिला बरामद गरेको हो ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ गुडिरहेको जीपलाई शङ्का लागि जाँच गर्दा शालिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । मुस्ताङको दामोदरकुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवान्काे प्रतीकका रूपमा पुज्ने गरिन्छ ।
व्यावसायिक रूपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले निगरानी गर्ने गरेको छ । तर व्यक्तिगत रूपमा फुटकर शालिग्राम शिला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन प्रहरी र एक्यापले छुट दिएको छ ।
मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोमलगायतका ठाउँमा फुटकर व्यवसायीले शालिग्राम बिक्रीका लागि राखेका हुन्छन् । मुस्ताङमा पर्यटक आगमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ ।