लुम्बिनीमा एक सय ८० वटा चट्याङका घटनामा ५४ मृत्यु - Pyuthan Online
मंसिर १२ गते २०८२

लुम्बिनीमा एक सय ८० वटा चट्याङका घटनामा ५४ मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ६ गते २०८२

दाङ,६ जेठ । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका बताउनुभयो । उहाँका अनुसार २०७८ साउनदेखि २०८२ जेठ ५ गते हिजोसम्मको तथ्याङकमा चट्याङका एक हजार एक सय १८ वटा घटना भएका छन् । एक हजार ६ सय ७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा पर्ने श्रेष्ठले बताउनुभयो । विशेषगरी घरगोठ र अग्ला रुख तथा टावरमा चट्याङ पर्छ । बर्खामा किसान चट्याङबाट बढी प्रभावित हुने गरेका छन् ।

चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा धेरै रहेको प्राधिकरणका सहसचिव श्रेष्ठले जानकारी दिनुभयो । विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा ५१ जनाको मृत्यु भएको र ८४ जना घाइते भएका उहाँले जानकारी दिनुभयो । त्यस्तै कोशीमा तीन सय ६६ घर प्रभावित बनेका छन् । कोशीमा चट्याङका कारण एक करोड ६० लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ । प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित भएका छन् ।

सुदूरपश्चिममा ३५, मधेशमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना घाइते भएका छन् । नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले जानकारी दिनुभयो । चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उहाँले बताउनुभयो ।

सम्वन्धित समाचारहरु