दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण - Pyuthan Online
असार १५ गते २०८२

दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ५ गते २०८२

दैलेख, ५ असार । दैलेख जिल्लाको जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक मिथेन ग्यास रहेको पत्ता लागेको छ । खानी तथा भूगर्भ विभागका अनुसार चीनको चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा गरेको अध्ययन तथा ड्रिलिङको प्रारम्भिक प्रतिवेदनमा करिब १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको उल्लेख गरिएको छ ।

यो परिमाण नेपालको सन्दर्भमा ५० वर्षसम्म पर्याप्त हुने खानी तथा भूगर्भ विभागको प्रारम्भिक अनुमान छ । अध्ययनको अन्तिम प्रतिवेदन सन् २०२५ को डिसेम्बरसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

चिनियाँ विज्ञ टोलीले २०८० वैशाख २८ गतेदेखि करिब डेढ वर्षसम्म जलजले क्षेत्रमा ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरेको थियो । प्रत्येक मिटरको चट्टान नमुना परीक्षणका लागि चीन पठाइएको विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले जानकारी दिनुभयो । चिनियाँ टोलीले संकलन गरेका चट्टानका नमुनाबाट ग्यासको गुणस्तर, सम्भावित उत्पादन क्षमता, र वातावरणीय प्रभावसमेतको विश्लेषण गरिनेछ ।

विभागका अनुसार अब यो परियोजना अघि बढाउन नेपाल–चीनबीच उच्चस्तरीय सरकारी सम्झौता आवश्यक हुनेछ । यदि परीक्षण सफल भएमा यो ग्यास स्रोतले नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने ऐतिहासिक सम्भावना रहेको विज्ञहरू बताउँछन्। यथासक्य चाँडो व्यवसायिक उत्पादन सुरु गर्नको लागि पूर्वाधार र कानुनी प्रक्रिया तिव्र पार्ने तयारी भइरहेको विभागले जनाएको छ ।

सम्वन्धित समाचारहरु