वादी समुदायका पहिलो महिला मन्त्री सीता वादी - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

वादी समुदायका पहिलो महिला मन्त्री सीता वादी

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १३ गते २०८२

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त हुनुभएको छ । वादी समुदायबाट मन्त्री बनेको उहाँ पहिलो हो । महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आउनुभएकी नवनियुक्त मन्त्री वादीले वादी समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताउँदै आउनुभएको छ । संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलालाई आर्थिक स्वावलम्बी बनाउने काम गर्दै आएको उहाँको भनाइ छ ।

कर्णाली प्रदेशको सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई अहिले काठमाण्डौको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी वादीले राजनीतिक यात्रामा रास्वपाबाट शुरू गर्नुभएको हो । ‘महिलाहरुको स्थिति नाजुक छ, त्यसमा पनि दलित र वादी समुदायको त झनै पीडादायी छ,’ उहाँले भन्नुभयो, ’स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्छु ।’

सीताका अनुसार राजनीतिको यात्रा सजिलो छैन । तर, यो अवसरलाई उहाँले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने बताउनुभयो । समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उहाँको धारणा छ । आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उहाँको योजना छ ।

वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जहाँ गरिबी मात्रै होइन, नियति जस्तो बनाइयो, जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइयो ।

यसअघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उमादेवी वादी निर्वाचित हुनुभएको थियो । ‘वादी समुदायका खान र बस्नसमेत नपाएको अवस्था छ । वादी समुदायका छोरीहरुको अवस्था अन्धकारमय छ,’ उहाँले भन्नुभयो । आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनाले भरिएको बताउँदै उहाँले पढ्नका लागि कलम–कापी नपाउँदाको पीडा सम्झनुभयो । उहाँले गरिबीकै कारण खान र बस्नसमेत चुनौती खेपेर बाल्यकाल हुर्किएको सुनाउनुभयो ।

यद्यपि वादीले जीवनमा भोगेका थुप्रै सङ्घर्षले आफ्नो जीवनलाई थप बलियो र परिपक्व बनाएको बताउनुभयो । अभावका बीच पनि पढ्ने रहर उहाँले कहिल्यै मार्नुभएन र एउटा संस्थाले उहाँलाई शिक्षामा सहयोग गर्यो । समाजसेवा (बीएसडब्लू) अध्ययन पूरा गर्नुभएकी वादीले शिक्षा नै चेतनाको मुख्य आधार रहेको बताउनुभयो । पढ्न पाएपछि उहाँले जीवनलाई फरक ढङ्गले अगाडि बढाउन सक्ने हुनुभयो । ‘समाजमा आत्मसम्मानको लडाइँ निकै ठूलो हँुदोरहेछ,’ उहाँले भन्नुभयो, ‘जुन अहिलेसम्म लडिरहेछु ।’

सम्वन्धित समाचारहरु