प्युठान । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानले अन्तरक्रिया कार्यक्रम गरेर ४९ औं स्थापना स्थापना दिवश मनाएको छ । बुधबार बिजुवार जुम्रीमा रहेको होटल आयुष्मामा शाखाले विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले नेपाल रेडक्रसको ऐतिहासिक पृष्टिभूमि, जिल्लाले गरेका गतिविधि, रेडक्रस अभियान लगायतका बिषयमा अन्तरक्रियामा सहभागीलाई स्पष्ट पारेका थिए । रेडक्रसका सात सिद्धान्तलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान जुनियर युवा देखि स्वयंसेवक र रेडक्रसकर्मी, कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको उनले बताए । त्यसको लागि सबैले मानवीय सेवाभावले काम गर्नुपर्ने बताउदै समुदायमा विभिन्न खालका चुनौती भएपनि ती चुनौतीको सामाना गर्दै अगाडि बढ्दा सबैको सहयोग आवश्यक रहेको पुलामीले बताए ।
पछिल्लो समय समाजमा मानवताको लागि निष्पक्ष र तटस्थ रुपमा सेवा गर्ने नागरिकको खाँचो बढेर गएको अन्तक्रिर्या कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । हरेक मानवीय सेवा, दैवीप्रकोप, विपदमा अग्रपंक्तिमा रहेर काम गर्ने सामाजिक संस्था नेपाल रेडक्रसले आफ्नो गरिमा मर्यादालाई उँचो राख्ने गरी यसको संस्थागत विकास गर्न र नयाँ पुस्तालाई यो अभियानमा जोड्दै जानुपर्ने आवश्यकता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुको जोड थियो।
शाखाले स्थापना दिवसका अवसरमा उत्कृष्ट उपशाखालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारी र बाङ्गेशाल उपशाखाका सभापति दोर्ण अधिकारीलाई कदरपत्रले सम्मान गरिएको जिल्ला शाखाका मन्त्री दामोदर शर्माले जानकारी दिए । उहाँहरुले रेडक्रसको मानव सेवा तथा सामाजिक उत्तरदायित्वप्रति पुर्याएको योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको मन्त्री शर्माले बताए । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण मन्त्री दामोदर शर्माले गर्नुभएको थियो भने कार्यक्रममा संघ संस्थाका प्रतिनिधि, समाजसेवी, स्वयंसेवक र स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जिल्लामा वि.स. २०३३ बैशाख १० गते पहिलो सामाजिक संस्थाको रुपमा विधिबत रुपमा स्थापना भएको थियो ।