प्यूठान अनलई न्यूज डेक्स । राजसंस्था एवं हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयताको खारेजीसहितको माग गर्दै आन्दोलनरत राजावादी समूहले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । राजावादीको आन्दोलन कमजोर भएको टिप्पणी भइरहेकै बेला उनीहरू आन्दोलन चर्काउनेगरी अघि बढेका छन् ।
राजावादी समूहले गठन गरेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले आगामी १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पूर्णरूपमा असफल भइसकेको दाबी गरे ।
‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिका लागि सशक्त जनदबाब सिर्जना गर्न अगामी १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले भने ।
सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना तथा केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरूप अहिलेको भन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार बनाउनुपर्ने उनले बताए ।
‘हाम्रो घोषणा राजनीतिक दलहरूले चाहने हो भने उपरोक्त उद्देश्यहरू सहमति र समझदारीकै आधारमा वर्तमान संविधानकै परिधिबाट हासिल हुन्छ,’ उनले भने । आन्दोलन शान्तिपूर्ण हुने तथा भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरूप हुने सुवेदीले बताए । उनले वर्तमान व्यवस्थाले आर्थिक, सामाजिक र सांस्कृतिक संकट, विवाद र द्वन्द्वको अवस्था सिर्जना गरेको दाबीसमेत गरेका छन् ।