प्रेस सेन्टर नेपाल, प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र - Pyuthan Online
असार १५ गते २०८२

प्रेस सेन्टर नेपाल, प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २८ गते २०८२

प्यूठान । प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारहरूको पेशागत हक–हित तथा सञ्चार क्षेत्रको मागहरू सम्बोधन गर्न माग गर्दै प्रेस सेन्टर नेपाल, जिल्ला समिति प्यूठानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानको कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई १२ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

प्रेसमैत्री कानुन निर्माण, समानुपातिक विज्ञापन वितरण प्रणाली कार्यान्वयन, पत्रकार स्वास्थ्य तथा जीवन बीमा, सञ्चार सामग्रीमा भन्सार छुट, सञ्चार उपकरणको विमा, स्थानीय तहमा विज्ञापन वितरण कार्यविधि निर्माण, सूचना हकको प्रभावकारी कार्यान्वयन र पत्रकारमाथि भइरहेका आक्रमण तथा धम्कीको अन्त्य गरी पत्रकार सुरक्षाको प्रत्याभूति गराउने लगायतका माग सहित १२ बुँदे ज्ञापनपत्र बुझाइएको जिल्ल अध्यक्ष यादव पौडेलले जानकारी दिए ।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य एवम् प्रेस सेन्टर नेपालका नेता सुशील पोखरेल,प्रेस सेन्टर नेपालका निवर्तमान लेखा समिति संयोजक तुफान अधिकारी, लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश वैध, जिल्ला सचिव केशर सुनार र जिल्ला सदस्य सुबास श्रेष्ठको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाईएको पौडेलले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले पत्रकारका हक–हित तथा जायज मागहरू सम्बन्धित निकायमा पठाउने र जिल्लाका सरोकारवाला निकायहरूसँग समन्वय गरी कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता गरे ।
प्रजिअ नेपाल मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौं, गृह मन्त्रालय सिंहदरबार काठमाडौं, विज्ञापन वोर्ड काठमाण्डौ लगायत अन्य सम्बन्धित निकायलाई वोधार्थ राखेर १२ बुँदे ज्ञापन पत्र बुझाइएको छ ।