झिमरुकमा योजना बैंक बनाएर विकास योजना गर्ने निर्णय - Pyuthan Online
असार १५ गते २०८२

झिमरुकमा योजना बैंक बनाएर विकास योजना गर्ने निर्णय

शम्भु सुनार
शम्भु सुनार
असार ७ गते २०८२

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले विकास निर्माणका योजनाहरु संचालन गर्दा अवको समयमा योजना बैंक मार्फत गर्ने निर्णय गरेको छ । शनिवार पालिकाको १८ औँ गाउँसभाले भौतिक पूर्वाधार निर्माणका योजनाहरुलाई निश्चित मापदण्ड बनाएर मात्र संचालन गर्ने नीति ल्याएको अध्यक्षको सचिवलायले जनाएको छ । पूर्वाधार विकासको बजेटलाई तलमाथी नहोस र परेको योजना खर्च होस भनी यस्तो नीति ल्याइएको अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताउनुभयो । हामी आग्रह , पुर्वआग्रह नगरी जनताको समस्याहरु क्रमिक रुपमा समधान गर्ने उदेश्यका साथ लागेको समेत अध्यक्ष महत्तरा क्षेत्रीको भनाई रहेको छ ।

आ.व. २०८२÷०८३ बाट सोही योजना कार्यान्वयनमा आउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि नै आठ वटै वडामा एक÷एक वटा वडाका गौरवका योजनाहरु संचालन गर्ने समेत नीति ल्याएको छ । त्यस्तै ६० वर्षमाथीका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आँखा उपचार पालिकाले निःशुल्क गर्ने , प्रसुती सेवा लिन जाँदा र फर्कदा लाग्ने यातायात खर्चमा नेपाल सरकारले दिएको यातायात सुविधामा थप रकम उपलव्ध गराउने , प्लाष्टिकजन्य वस्तुहरुको प्रयोगलाई निरुत्साहित गर्दै विस्तारै प्लाष्टिकमुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको छ ।

गाउँ सभाको १८ ‌औं अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष२०८२र०८३ को नीति तथा कार्यक्रम लगायत ९ वटा कार्यसूचीहरु पेस भई सर्वसम्मतरुपमा पारित गर्दै सम्पन्न भएको हो ।