भारतले आज ७९ औं स्वतन्त्रता दिवस मनाउँदै - Pyuthan Online
असाेज १९ गते २०८२

भारतले आज ७९ औं स्वतन्त्रता दिवस मनाउँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३० गते २०८२

भारतले १५ अगस्टका दिन आज आफ्नो ७९ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगातार १२ औं पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड कायम गर्नुहुनेछ ।

योसँगै उहाँ पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको लगातार ११ पटकको झण्डा फहराउने रेकर्ड तोड्नुहुनेछ । मोदी २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेपछि हरेक वर्ष स्वतन्त्रता दिवसमा लाल किल्लाबाट देशलाई सम्बोधन गर्दै आउनु भएको छ ।

सन् १९४७ अगस्ट १५ मा करिब दुई शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो ।

१८ औं शताब्दीको मध्यतिर इस्ट इन्डिया कम्पनीमार्फत शुरु भएको ब्रिटिश प्रभाव, पछि प्रत्यक्ष उपनिवेशमा रूपान्तरण हुँदै, राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा गहिरो प्रभाव पारेको थियो ।

स्वतन्त्रताको यात्रामा महात्मा गान्धीको अहिंसात्मक आन्दोलन, जवाहरलाल नेहरू, सरदार बल्लभभाई पटेल, सुभाषचन्द्र बोसलगायतका नेताहरूको योगदान निर्णायक रह्यो ।

स्वतन्त्रता प्राप्तिपछि भारतले लोकतान्त्रिक गणतन्त्रको बाटो समातेको थियो । तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीडादायी इतिहास पनि जोडिएको छ, जसले भारत र पाकिस्तान दुई स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो ।

विभाजनका क्रममा लाखौं मानिस विस्थापित भए र ठूलो जनधनको क्षति भयो । भारतको स्वतन्त्रता दिवस केवल एक ऐतिहासिक घटना मात्र नभई लोकतन्त्र, एकता र निरन्तर प्रगतिप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा मनाइन्छ ।

सम्वन्धित समाचारहरु