चैत १६ गते शनिवार । मधुमेहको समस्यामा सुगर नियन्त्रण गर्न एकदमै जरुरी हुन्छ । खानपानमा नियन्त्रण र जीवनशैली परिवर्तन गरेर रगतमा चिनीको मात्रा सामान्य बनाउन सकिन्छ । गुलियो त मधुमेहको बिरामीका लागि मन्द विष नै हो भन्ने गरिन्छ ।
के यस्तोमा गुलिया फलफूल पनि मधुमेहको बिरामीका लागि हानिकारक हुन सक्ला ?
फलफूलमा पानी, भिटामिन, फाइबर, एन्टिअक्सिडेन्ट र विभिन्न प्रकारका पोषक तत्त्वहरू पाइन्छ । प्राकृतिक रुपमा पाइने गुलियोपनाले त शरीरलाई कुनै पनि हानि पुर्याउला र भन्ने प्रश्न पनि धेरैको मनमा होला ।
मधुमेह भएका बिरामीले आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्न आहारमा विशेष ध्यान दिनुपर्छ । फलफूलमा प्राकृतिक चिनी (फ्रुक्टोज) पाइन्छ, जसले रगतमा चिनीको मात्रा बढाउन सक्छ ।
मधुमेहका बिरामीले फलफूल त खान मिल्छ, तर कुन फलफूल कति खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । फलफूलमा कार्बोहाइड्रेटका साथै खनिज र भिटामिन पनि पाइने भएकाले खान सकिन्छ । तर धेरै मात्रामा फलफूल खाइयो भने पनि शरीरमा सुगर लेभल बढ्छ ।
खानेकुरा तथा फलफूलमा सुगर लेभल मापन गर्ने ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्त्व) ले हो । त्यसैले कुन फलफूलमा ग्लाइसेमिक इन्डेक्स बढी र कुनमा कम छ भनेर छुट्ट्याउनुपर्छ । ग्लाइसेमिक इन्डेक्स कम भएका फलफूल अलि बढी खान सकिन्छ भने ग्लाइसेमिक इन्डेक्स बढी भएका फलफूल कम खानुपर्छ।
ग्लाइसेमिक इन्डेक्स बढी हुने फलफूल
आँप
आँपलाई फलफूलको राजा मानिन्छ । तर मधुमेह रोगीले भने आँप धेरै खान हुँदैन । आँपमा ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ । ५५ भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएका खानेकुरा मधुमेह रोगीका लागि राम्रो मानिन्छ । आँपमा ५० देखि ५५ ग्लाइसेमिक इन्डेक्स हुन्छ । जसले रगतमा चिनीको मात्रा द्रुत रूपमा बढाउन सक्छ। त्यसैले मधुमेहका रोगीले आँप सकेसम्म थोरै मात्रामा खानुपर्छ ।
केरा
केरा मधुमेह भएका व्यक्तिले पाकेको केरा थोरै मात्रामा खानुपर्छ । यसको ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ । जसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । तर, काँचो केरामा टन्नै स्टार्च पाइन्छ । यसमा चिनीको मात्रा कम गर्ने अनि इन्सुलिन प्रतिरोधसँग लड्न मद्दत गर्ने फाइबर पनि हुन्छ । काँचो केरा भने मधुमेहमा खान सकिन्छ ।
लिची
उच्च ग्लाइसेमिक इन्डेक्सका कारण लिची कम खानुपर्छ । धेरै खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ । जुन मधुमेहका लागि हानिकारक हो । त्यसैले मधुमेह रोगीहरूलाई यो फल एकदमै कम खानु राम्रो हुन्छ ।
भुइँकटहर
भुइकटरमा ग्लाइसेमिक इन्डेक्स धेरै हुन्छ । यसबाहेक भुइँकटहरमा कार्बोहाइड्रेट पनि पाइन्छ । जसले मधुमेह रोगीलाई समस्या निम्त्याउन सक्छ । त्यसैले यो फल सीमित मात्रामा मात्र खानुपर्छ ।
अङ्गुर
अङ्गुरमा पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । तर यसमा ग्लाइसेमिक इन्डेक्स धेरै हुने भएकोले यसलाई कहिलेकाहीँ थोरै मात्रामा मात्र खानु उपयुक्त हुन्छ ।
ग्लाइसेमिक इन्डेक्स कम हुने फलफूल
अम्बा, स्याउ, मौसम, सुन्तला, नास्पाती, किबी, ड्रागन फ्रुट, एभोकाडो, खर्बुजा जस्ता फलफूलमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकोले यस्ता फलफूल मधुमेहका बिरामीले खान सक्छन् ।
सबै फलफूल तौलेरै खान त गाह्रो होला । यद्यपि मधुमेहका बिरामीले दैनिक १०० देखि २०० ग्रामसम्म फलफूल खाँदा सुगर नियन्त्रणमा रहन्छ । फलफूलको जुस पिउनु भनेको केही मात्रामा चिनी सेवन गर्नु जस्तै हुने भएकाले जुसको सेवन नगर्नु राम्रो हुन्छ ।
यदि चामल, रोटी, आलु आदि कार्बोहाइड्रेटयुक्त खानेकुरा खाइरहनुभएको छ भने, साथमा फल खाँदा चिनीको मात्रा झन् बढ्न सक्छ । त्यसैले अलग्गै सीमित मात्रामा खाने बानी बसाल्नुपर्छ ।
ड्राइफ्रुट्स
मधुमेहका बिरामीले ओखर, काजु, पेस्ता, बदाम लगायत प्रायः सबै प्रकारका ड्राइफ्रुट खान मिल्छ । यी खानेकुरामा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ तर किसमिस र छोकडामा भने ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ । त्यसैले यी दुईलाई भने कम मात्रामा खानुपर्छ ।