काठमाडौं । रेमिट्यान्स आप्रवाहमा १० प्रतिशत वृद्धि हुँदा मुलुकमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुगेको छ । चालू आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा कुल ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।
गत साउनदेखि चैतसम्ममा आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ । नेपालबाट मुद्रा विदेशिने भन्दा भित्रिने वढी हुँदा शोधनान्तर स्थिति रु.३ खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । जसले गर्दा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ ।
९ महिनामा चालु खाता रु.२ खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा रहेको छ ।
– विदेशिएका विद्याथीले लगे १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ
– विदेशी पर्यटकबाट ६६ अर्ब ५४ करोड आम्दानी
– नेपाली पर्यटकबाट ६६ अर्ब ५५ करोड खर्च
विदेशी मुद्रा सञ्चितिलाई आयातसँग आधार मानेर अनुमान गर्दा नेपालका बैंकिङ क्षेत्रसँग डेढ वर्षका लागि वस्तु आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको हो । कुल विदेशी मुद्रा सञ्चिति १८.९ प्रतिशतले बढेर ०८१ चैत मसान्तसम्म २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ सञ्चिति थियो ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । जुन १५.६ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब ९० अर्ब ३८ करोड रुपैयाँ छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार नौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ५८ हजार दुई सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४९ हजार ६ सय ५२ छ । अघिल्लो वर्षको यही अवधिमा तीन लाख २७ हजार आठ सय ४२ जनाले अन्तिम श्रम स्वीकृति र दुई लाख ११ हजार दुई सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात ६५ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै नौ महिनामा कुल वस्तु आयात १२ दशमलव २ प्रतिशतले बढेर १३ खर्ब नौ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा ६ दशमलव चार प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
चैत महिनामा मुल्यवृद्धि तीन दशमलव ३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको थियो । ९ महिनामा विदेश जाने नेपाली विद्यार्थीले १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ लगेको देखिएको छ । चैतसम्म भ्रमण व्यय १ खर्ब ७० अरब ३९ करोड रुपैयाँ पुगेको छ, जसले गत वर्षको तुलनामा १९ प्रतिशत वृद्धि देखाएको छ।
विदेश घुम्न जाने नेपालीहरूले विदेशी मुद्रा खर्च गरेका छन् भने नेपालले विदेशी नागरिकबाट आम्दानी गरेको रकम त्यसको तुलनामा कम भएकोले सेवा घाटा भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव चैत मसान्तसम्मको वित्तीय तथा आर्थिक स्थिति प्रतिवेदन अनुसार गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको थियो ।
नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् । विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा नेपाल सरकारको कुल खर्च रु.९ खर्ब ९८ अर्ब ५२ करोड रहेको छ । साउनदेखि चैतसम्ममा चालु खर्च रु.६ खर्ब ७८ अर्ब ९ करोड, पँुजीगत खर्च रु.१ खर्ब २ अर्ब ९० करोड र वित्तीय व्यवस्था खर्च रु.२ खर्ब १७ अर्ब ५३ करोड रहेको छ ।
प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरी राजस्व परिचालन रु.८ खर्ब ३१ अर्ब ४० करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु.७ खर्ब ४४ अर्ब १५ करोड र गैर कर राजस्व रु.८७ अर्ब २५ करोड परिचालन भएको छ ।
चैत मसान्तमा सरकारका विभिन्न खातामा रु.३ खर्ब ७१ अर्ब ७९ करोड नगद मौज्दात रहेको छ । यो प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत हो । गत २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.९३ अर्ब ९६ करोड रहेको थियो ।