१४ वर्षीय रीता गुरुङ (नाम परिवर्तन) सामाजिक फेसबुकमा निकै सक्रिय थिइन्। सामाजिक सञ्जालमा नयाँ-नयाँ साथी बनाउने र उनीहरूसँग कुराकानी गर्ने उनको दैनिकी नै थियो । उनका अभिभावकलाई यसबारे कुनै जानकारी थिएन ।
एकदिन अज्ञात व्यक्तिहरूले उनको फोटोका विषयमा अपमानजनक टिप्पणी गर्नथाले । उनका पोस्टहरूमा गालीगलौज हुनथाल्यो, निजी सन्देशहरूमा अश्लील शब्दहरू लेखिन थाले। उनलाई धम्क्याउन थालियो । रीतालाई सुरुमा रमाइलो लाग्ने फेसबुकको यात्रा त्रासदीमा परिणत भयो ।
सामाजिक सञ्जालमा भएको यस्तो व्यवहारले डराएकी रीताले साथीको सहयोगमा साइबर अपराध शाखामा उजुरी गरिन्। तर, उनको आवाज कसैले सुनेन । उजुरी दर्ता भए पनि कारबाही भएन । उनी अझै पनि अनलाइन उत्पीडनको शिकार भइरहेकी थिइन्।
रीता प्रतिनिधि पात्र मात्र हुन्। नेपालमा हरेक दिन कैयौँ बालबालिका अनलाइन उत्पीडनको शिकार भइरहेका छन्। उनीहरूलाई धम्क्याइन्छ, गाली गरिन्छ, साइबर बुलिङ गरिन्छ, र उनीहरूकै फोटो तथा भिडियोहरू दुरुपयोग गरिन्छ ।
नेपालमा बालबालिकामाथि हुने अनलाइन उत्पीडनका घटनाहरू
फेसबुक र टिकटकमा अश्लील टिप्पणीः अभिभावकहरूले आफ्ना बच्चाका तस्बिर सामाजिक सञ्जालमा राख्दा वयस्कहरूले आपत्तिजनक प्रतिक्रिया दिएका घटना धेरै देखिन्छन् ।
अनलाइन ब्ल्याकमेलिङः किशोर-किशोरीले आफ्ना साथीहरूसँग व्यक्तिगत तस्बिर वा जानकारी सेयर गर्दा साथी वा अन्य व्यक्तिले त्यसको दुरुपयोग गरेका घटनाहरू पनि छन् ।
गेमिङ प्लेटफर्ममा उत्पीडनः कतिपय बालबालिका अनलाइन गेम खेल्दा अपरिचित व्यक्तिहरूसँग जोडिएका हुन्छन्, जसले तिनलाई धम्क्याउने, लोभ्याउने वा फसाउने प्रयास गरेका घटना पनि प्रशस्त छन् ।
टिकटकमा बालबालिकामाथि वयस्कहरूकै दुर्व्यवहार
हालै, नेपालमा टिकटकमा देखिएको एउटा घटनाले अनलाइन बुलिङको भयावहता उजागर गर्यो। वयस्कहरूबिचको ‘क्याट फाइट’ (झगडा) को क्रममा निर्दोष बालबालिका तानिए। झगडामा संलग्न वयस्कहरूले विरोधीलाई अपमानित गर्न बालबालिकाका भिडियो प्रयोग गरेका थिए ।
यसबाहेक, कतिपय व्यक्तिहरूले बालबालिकाको फोटो तथा भिडियोमा अश्लील टिप्पणी गर्ने, गलत सूचना फैलाउने, र सार्वजनिक रूपमै अपमान गर्ने गरेका छन्। नेपालमा बालबालिकामाथि अनलाइन दुर्व्यवहारका धेरै घटना सार्वजनिक भएका छन् ।
यस्तो घटनाले बालबालिकाको मानसिक तथा भावनात्मक स्वास्थ्यमा पर्ने असर अनलाइन उत्पीडनले बालबालिकाको मनोवैज्ञानिक अवस्थामा गम्भीर असर पार्छ । उनीहरूमा आत्मग्लानि र डिप्रेसनको समस्या समेत निम्तने जोखिम बढ्छ।
सामाजिक सञ्जालमा हुने विभिन्न किसिमको दुर्व्यवहार बालबालिकाले आत्मग्लानी महसुस गर्छन्, जसले उनीहरूलाई डिप्रेसनको समस्या निम्तने जोखिम समेत हुन्छ ।
सामाजिक सञ्जालमा निरन्तर गाली र धम्कीले उनीहरूको आत्मविश्वास कमजोर बनाउँछ । आत्मविश्वासमा कमी हुँदा बालबालिकाको पढाइदेखि अन्य कुरामा प्रभाव पर्न सक्छ ।
निरन्तर दुर्व्यवहारको सिकार भएका बालबालिकाले कतिपय अवस्थामा आत्महत्याको प्रयास समेत गर्न सक्छन् । बालबालिकालाई अनलाइन उत्पीडनबाट कसरी जोगाउने ?
बालबालिकालाई सुरक्षित राख्नका लागि अभिभावक, सरकार, विद्यालय, र सामाजिक सञ्जाल कम्पनीहरूको महत्वपूर्ण भूमिका रहन्छ ।
अभिभावकको भूमिका
अभिभावले बालबालिकासँग खुला संवाद गरी उनीहरूले प्रयोग गर्ने एप्स र वेबसाइटबारे बुझ्नुपर्छ । सुरक्षित डिजिटल वातावरण बनाउने प्रयास गर्नुपर्छ । बालबालिकालाई अनलाइनमा अनजान व्यक्तिहरूसँग कुराकानी नगर्न, व्यक्तिगत जानकारी सेयर नगर्न, र सुरक्षित पासवर्ड प्रयोग गर्न सिकाउनुपर्छ । उनीहरूलाई साइबर सुरक्षाबारे सचेत गराउनु पर्छ।
इन्टरनेट प्रयोगको लागि सीमित समय निर्धारण गर्दिनु पर्छ । मोबाइल वा कम्प्युटरको प्रयोगमा समय सीमा तोकिदिँदा उनीहरूले त्यो समय पढाइ तथा अन्य उत्पादन मूलक काममा खर्च गर्न सक्छन् ।
बच्चाहरूले कुन प्लेटफर्म प्रयोग गरिरहेका छन् भन्ने बुझेर गोपनीयताको सेटिङ चेक गर्नुपर्छ । उनीहरूको सोसल मिडिया प्लेटफर्ममा निगरानी राखेर पनि उनीहरूलाई अनलाइन दुर्व्यवहारबाट बचाउन सकिन्छ।
विद्यालय र शिक्षकहरूको भूमिका
साइबर सुरक्षाको बारेमा पाठ्यक्रम लागू गरिनु आवश्यक छ। विद्यालयमा विद्यार्थीहरूलाई डिजिटल इथिक्स (अनलाइन शिष्टाचार)को बारेमा सिकाइनुपर्छ। साथै अनलाइन उत्पीडनको सिकार भएका विद्यार्थीहरूलाई परामर्श दिनुपर्छ।
सरकार र कानुनी सुधार
साइबर अपराध सम्बन्धी कानुनलाई कडाइका साथ लागू गर्नुपर्छ । साइबर अपराध उजुरीका लागि सहज पहुँच उपलब्ध गराइनुपर्छ । बालबालिकाका लागि सुरक्षित इन्टरनेट नीति विकास गर्नुपर्छ।
सामाजिक सञ्जाल कम्पनीहरूको भूमिका
अश्लील सामग्री र दुर्व्यवहार हटाउने नीतिलाई प्रभावकारी बनाउनुपर्छ । रिपोर्ट गरिएका आपत्तिजनक पोस्टहरूलाई तत्काल हटाउने व्यवस्था हुनुपर्छ । बालबालिकाको सुरक्षाका लागि गोपनीयता सेटिङलाई कडाइका साथ लागू गर्नुपर्छ।
निष्कर्ष
सामाजिक सञ्जाल अवसरका साथसाथै चुनौतीको स्रोत पनि बनेको छ। रीता जस्ता हजारौँ बालबालिका अनलाइन उत्पीडनको शिकार भइरहेका छन् । उनीहरूको सुरक्षा सुनिश्चित गर्न अभिभावक, शिक्षक, सरकार, र सामाजिक सञ्जाल कम्पनीहरूले संयुक्त प्रयास गर्नुपर्छ । अनलाइन स्वतन्त्रता बालबालिकाको अधिकार हो, तर उनीहरूको सुरक्षा जिम्मेवारी हो।