‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ७ गते २०८१

काठमाडौँ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ कार्यक्रम सुरु गर्ने भएका छन् ।आज यहाँ बोर्डमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडिपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा बोर्डका सिइओ जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले सम्झौतापत्र आदानप्रदान गरे ।

स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको परियोजना सफल बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताए ।

कूल लागत ५ मिलियन (५० लाख) अमेरिकी डलर रहेको यो परियोजनामा बोर्ड र युएनडिपीले समान एक दशमलव पाँच मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप दुई मिलियन अमेरिकी डलर संयुक्त रूपमा परिचालन गरिनेछ । परियोजनाले तीन वर्षको अवधिमा (२०२५–२०२८) दुई हजार ५०० दिगो रोजगारी सिर्जना र पाँच हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

प्रमुख पर्यटकीयस्थलमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेशनलाई प्रवर्द्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको छ ।

कार्यक्रममा बोर्डका सिइओ जोशीले युएनडिपीको साझेदारीप्रति धन्यवाद व्यक्त गर्दै भने, “यस परियोजनाले नेपालमा पर्यटन अनुभव मात्र होइन, स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसरहरू प्रदान गर्दै नेपाललाई एक सशक्त र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।”

यसैगरी, युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा युएनडिपीले जोडिन पाउँदा गर्व महसुस गरेको भन्दै यो परियोजना स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्नेगरी नेपालको आर्थिक सम्भावना वृद्धि गर्न र दिगो पर्यटनलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

परियोजनाले नेपालको १६औँ योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) ले परिकल्पना गरेका प्राथमिकताअनुसार सन् २०३२ सम्ममा वार्षिक पर्यटक आगमन ३५ लाख पु¥याउन र नेपाललाई विश्वभरका यात्रुहरूका लागि अझ आकर्षक र दिगो गन्तव्य बनाउन बल पु¥याउने बोर्डले जनाएको छ ।

पर्यटन बोर्ड र युएनडिपीले यसअघि संयुक्त रूपमा सञ्चालन गरेको ‘दिगो पर्यटनमार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटिएलआरपी)’ ले कोभिड–१९ महामारीपश्चात् प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न भूमिका खेलेको थियो । सो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्दै एक हजार छ सय जनालाई रोजगार सिर्जना गरेको थियो ।

नयाँ परियोजना एसटिपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तनमार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने लक्ष्य लिएको छ ।

सम्वन्धित समाचारहरु