बागमतीमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने - Pyuthan Online
असाेज १९ गते २०८२

बागमतीमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३१ गते २०८२

काठमाण्डौ – बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ ।

अहिले गाई/भैँसीमा लम्पी स्किन रोग देखा पर्नेक्रम बढेको र यसको रोकथाम तथा नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको प्रदेश सरकारले जनाएको छ ।

भोलिदेखि शुरू हुने यो अभियान बागमतीमा एक हप्तासम्म चल्नेछ । अभियान अन्तर्गत प्रदेशभरका एक सय १९ वटा पालिकामा झन्डै एक लाख २० हजार डोज खोप निःशुल्क वितरण गर्ने तयारी छ ।

प्रदेशको कृषि मन्त्रालयकाअनुसार लम्पी स्किनविरुद्ध लगाउन लागिएको खोप सुरक्षित र प्रभावकारी हुने अपेक्षा छ ।

लम्पी स्किन रोगले गाई/भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा कमी आउनेलगायतका लक्षण देखिन्छन् ।

बागमतीका जिल्लामध्ये चितवनमा यो रोग तीव्ररूपमा फैलिएको छ । पशुचौपायाका लागि खोप अभियानको शुरुवात ललितपुरबाट गरिनेछ भने त्यसपछि अन्य १३ वटै जिल्लामा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेशमा ११ हजार दुई सयभन्दा धेरै गाईभैँसी लम्पी स्किन रोगका कारण मरेका तथ्याङ्क छ ।

यसअघि बागमती प्रदेशभर दुई लाख ४५ हजार दुई सयभन्दा धेरै गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

तथ्याङ्कअनुसार बागमती प्रदेशभर गाई/भैँसीको सङ्ख्या १३ लाखभन्दा धेरै छ । बागमतीसहित कोशी, मधेश, लुम्बिनी, गण्डकी पनि लम्पी स्किनको सङक्रमण देखिएको छ ।

विगतमा पनि लम्पी स्किन रोगका कारण किसानले ठूलो आर्थिक क्षति भोग्नुपरेको थियो ।