प्यूठान अनलाईन न्यूज डेक्स । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए ।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट एक –एक लाख रुपैयाँ प्राप्त गरे ।
जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले आफ्नो जित फरक क्षमता भएकाहरूको जित भएको बताए । ‘फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुनसक्छन् भन्ने प्रमाणित भएको छ’ उनले भने ।
२ महिनादेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको भ्वाइसको छैटौं सिजन निकै चर्चित पनि रह्यो । यो सिजनमा पहिलोपटक लोकसंगीतलाई प्रतिनिधित्व गर्दै चर्चित लोकगायक खेम सेन्चुरी कोचको रुपमा सहभागी रहे । यो सिजनमा सर्वाधिक चारै कुर्सी घुम्नेको कीर्तिमान पनि रह्यो ।